समाचार
कचनकवल गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल प्रविधिबाट पाश्र्व चित्र (भिलेज प्रोफायल) तयार गरिएको |
कचनकवल गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल प्रविधिबाट पाश्र्व चित्र (भिलेज प्रोफायल) तयार गरेको छ । गाउँपालिकाको सम्पूर्ण जानकारी वेवसाइडबाटै हेर्न मिल्ने गरी पाश्र्व चित्र तयार गरेको हो । अन्य गाउँपालिका र नगरपालिकाले पनि आफ्नो गाउँ र नगरको पाश्र्व चित्र तयार गरे पनि वेवसाइडबाट हेर्न भने सकिँदैन । तर, कचनकवल गाउँपालिकाले डिजिटल प्रविधि अपनाएर पाश्र्व चित्र निर्माण गरेपछि गाउँपालिकाको सवै जानकारी अब वेवसाइडबाटै हेर्न मिल्ने भएको छ ।
कचनकवल गाउँपालिकाको पाश्र्व चित्र बिर्तामोडमा रहेको नेशनल फ्युचर फाउण्डेशनले तयार गरेको हो । फाउण्डेशनले तयार गरेको पाश्र्व चित्र फाउण्डेशनका सञ्चालक निरज निरौलाले गाउँपालिकालाई एक समारोहकाबीच हस्तान्तरण गरेका छन् । सो पाश्र्व चित्र गाउँपालिका अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशीलाई फाउण्डेशनका सञ्चालक निरौलाले हस्तान्तरण गरेका थिए । सो पाश्र्व चित्र वेवसाइडमार्फत गाउँपालिका अध्यक्ष आलमले सार्वजनिक समेत गरेका छन् ।
गाउँपालिकाले तयार गरेको डिजिटल भिलेज प्रोफायलमा शिक्षा, स्वास्थ्य, विद्युत्, कृषि, सडक, जमिन, लगायत विकासका सम्पूर्ण पूर्वाधारको अवस्था र आर्थिक रुपमा सवल जनसंख्याको विवरण समेत समेटिएको छ । डिजिटल भिलेज प्रोफायल तयार भएसंगै अव हरेक नागरिकले कचनकवल गाउँपालिकाको सबै विवरण वेवसाइटमार्फत नै थाहा पाउने भएका छन् ।